डोट्याली भाषामा “ड़” वर्णको उच्चारण र प्रयोग
डोट्याली भाषामा “ड़” वर्णको उच्चारण र प्रयोग
आजको विषयवस्तु डोट्याली भाषामा ‘ड़’
वर्णको प्रयोग रहेको छ। यस खण्डमा डोट्याली भाषामा ‘ड़’ वर्णको प्रयोग, उच्चारण र ‘ड’
वर्णसँग भिन्नता बारे चर्चा गर्नेछौं। ‘ड़’लाई गल्तीले जानी वा नजानी ‘ड’ वा ‘ण’ लेख्ने
गरिएको पाइन्छ। यी तीनै वर्णहरूको उच्चारण भिन्न छ जुन हामी तल चर्चा गर्नेछौं। ‘ड़’
वर्णको बारेमा चर्चा गर्नु अघि ‘ड़’ वर्ण प्रयोग भएका केही डोट्याली भाषाका
शब्दहरू र ती शब्दहरूमा ‘ड़’ वर्णको प्रयोग हेरौं।
पहाड़, डेड़, आड़, रोड़, गड़ा, कौड़ा, हाड़, हड़, ब:ड़, गूड़,
पड़पड़, खड़खड़, भाड़ा (सुन्नुहोस् )
माथिको उदाहरणहरूमा दिइए अनुसार ‘ड़’
वर्ण शब्दको मध्य वा अन्त्यमा आउँन सक्छ। यस वर्णबाट कुनै पनि शब्दहरू शुरू
हुँदैनन्। यदि ‘ड़’को सट्टामा ‘ड’ वर्ण प्रयोग गर्ने हो भने यी शब्दहरू तल दिइए
अनुसार बन्न जान्छन्
पहाड, डेड, आड, रोड, गडा, कौडा, हाड, हड, ब:ड, गूड, पडपड, खडखड,
भाडा (सुन्नुहोस् )
अब ‘ड’ वर्ण प्रयोग गरी लेखिएका
शब्दहरूलाई उच्चारण गरौं। तपाईंले यी शब्हरूलाई डोट्याली भाषामा गरिएको उच्चारण
अनुसार पाउनुहुने छैन्। केही भिन्न उच्चारण तपाईंले पाउनुहुने छ। तसर्थ यी
शब्दहरूमा ‘ड़’लाई ‘ड’ लेख्दा शव्दको उच्चारण डोट्याली भाषाको उच्चारण अनुसार
अशुद्ध हुन जान्छ। देवनागरी लिपिमा कथ्य र लेख्य रूप एउटै हुने अर्थात जे लेखिएको
छ त्यही पढिने भएकाले सम्भव भए सम्म वर्णहरूलाई उच्चारण अनुसार नै लेख्न उपयुक्त
देखिन्छ। तसर्थ उदाहरणमा देखाइए झैं ‘ड़’ शब्दहरूलाई ‘ड’को प्रयोग गरी लेख्दा स्वत:
उच्चारण पनि गलत हुन जान्छ।
आउनुहोस् ‘ड’, ‘ड़’, र ‘ण’ (सुन्नुहोस् ) वर्णको भिन्नताको बारेमा चर्चा गरौं। कुनै पनि वर्णलाई सही उच्चारण गर्नको
लागि निम्नलिखित दुई कुराहरूमा ध्यान दिनु जरूरी छ।
- तपाईंले त्यस आवाजलाई स्पष्ट रूपमा पहिचान गर्न सक्षम हुनुपर्दछ
- तपाईंलाई थाहा हुन आवश्यक छ कि मुखको कुन भागबाट ध्वनि उत्पन्न भइरहेको छ
देवनागरी लिपिमा व्यञ्जनवर्ण
वर्गीकरण व्यवस्था अनुसार ‘ड’ वर्ण मूर्धन्य स्पर्श
व्यञ्जन हो भने ‘ण’ मूर्धन्य अनुनासिक वर्ण हो। ‘ड़’
वर्णको कुरा गर्दा यो वर्ण मूर्धन्य उत्क्षिप्त (जुन व्यञ्जन वर्णको उच्चारण गर्दा
जिब्रोको टुप्पो पछाडि पट्टि वा माथिपट्टि तालुमा झट्काको साथ ठक्कर खाएर तल आउँछ
त्यस्ता व्यञ्जन ध्वनिहरूलाई उत्क्षिप्त ध्वनि भनिन्छ। हिन्दी भाषामा प्रयोग हुने ‘ढ़’
वर्ण पनि यही श्रेणीमा पर्दछ।) वर्ण हो। ‘ड़’ वर्णलाई IPA मा ⟨ɽ⟩ सङ्केतले जनाइन्छ र यसको समान X-SAMPA सङ्केत r`
हो।
यसर्थ 'ड़' वर्णको प्रयोग डोट्याली भाषामा आवश्यक छ र यसलाई 'ड' वा 'ण'ले प्रतिस्थापन गर्न सकिंदैन्।
सन्दर्भ सामग्रीहरू
- https://hi.wikipedia.org/wiki/उच्चारण_स्थान
- https://en.wiktionary.org/wiki/ड़
- https://www.quora.com/I-pronunciate-र-as-ड़-in-Hindi-how-do-I-correct-it
- How to pronounce da ड and ra ड़ in hindi - PART 1 [https://www.youtube.com/watch?v=k0T-FUxj83E]
- How to pronounce RA (र) and (RA) ड़ -PART 2 [https://www.youtube.com/watch?v=Wq8AXqmfWXQ]
Comments
Post a Comment